काठमाडौं । २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।
करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकाय सँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।
पर्यटकलाई विशेष अनुभव गराउन ‘लाइफटाइम एक्सपेरियन्स’को मुख्य नारासहित भ्रमण वर्ष केन्द्रित विशेष लोगोमार्फत यस बीचमा नियमित प्रवर्द्धनका कार्यक्रम आयोजना भइसकेका छन् ।
सरकारले काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरेको छ ।
दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम राति पौने ८ बजेसम्म जारी रहनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन कार्यक्रममा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया