नेपाली भाषाको उद्गमस्थल सिञ्जाको गुरुयोजना अलपत्र

सिञ्ज । नेपाली भाषाको उद्गमस्थल सिञ्जाको १० वर्षीय गुरुयोजना कार्यान्वयन नभएर अलपत्र अवस्थामा छ।

सिञ्जा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र आधुनिक विकास गर्नका लागि तत्कालीन जिल्ला विकास समितिले तयार पारेको (सन् २०१२ देखि २०१२) को गुरुयोजना कार्यान्वयन नभएको स्थानीयवासीको गुनासो छ।

सिञ्जा क्षेत्रको विकासका लागि जुम्ला सामाजिक विकास केन्द्रले विसं २०६५ मा गुरुयोजना बनाएर जिल्ला विकासलाई हस्तान्तरण गरे पनि कार्यान्वन हुन नसक्नुमा बिडम्बना रहेको सिञ्जा निवासी तथा जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटीले बताए ।

गुरुयोजनामा सिञ्जामा ३०४ वटा पर्यटकीय पूर्वाधार उल्लेख छन् ।

सन् २०१२ देखि २०२२ सम्म कार्यान्वयन हुनुपर्ने भए पनि स्थानीय तहले न त यसको चासो दिएका छन्, न सरोकारवाला निकायले नै प्रथामिकता दिएको छ।

गुरुयोजनामा सिञ्जा क्षेत्रमा चारलेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, सङ्ग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटक बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, धार्मिक मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षणस्थल निर्माणलगायतका विषय उल्लेख गरिएको बताइएको छ।

यहाँको कनकासुन्दरी मन्दिर, विराटदरबार, पाण्डवगुफाको गरुड नुहाउनी मन्दिर, वाणगङ्गा मन्दिर पवित्र तीर्थस्थल मानिन्छ।

छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषको संरक्षण हुन नसक्दा सिञ्जा पर्यटकीय गन्तव्यमा ढिला भएको छ।

सिञ्जाका प्रमुख पर्यटकीयस्थल पाण्डवगुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन्।

स्पष्ट गुरुयोजनाको काम अगाडि नबढेपछि सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीयस्थल, धार्मिकस्थल, पुराना दरबार सङ्कटमा पर्दै आएकाले गुरुयोजना कार्यान्वयन गरिनुपर्ने स्थानीयवासीको माग छ।

जिल्ला समन्वय समितिमा गुरुयोजना खोजेर कार्यान्वयन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए ।

योजनाको एक प्रति अहिले गुरुयोजना निर्माण गर्ने संस्था जुम्ला सामाजिक विकास केन्द्रमा रहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: