काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीले आफू बार्सिलोना छाड्न तयार रहेको बताएका छन् । उनले पिएसजीका ब्राजिलियन स्ट्राइकर तथा आफ्ना नजिकका साथी नेइमारलाई बार्सिलोनामा आफ्नो स्थान लिन आमन्त्रण गरेका छन् । फ्रेन्च मिडियाको रिपोर्टलाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेअनुसार मेस्सीले नेइमारलाई उनी बार्सिलोना आउने भए आफूले अर्को सिजनको अन्त्यमा बार्सिलोना छाड्ने बताएका हुन् ।
गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई नकआउट गरेपछि मेस्सी चिन्तित रहेको र यस सिजन आफूहरुले मिलेर च्याम्पियन्स लिग जित्नको लागि नेइमारलाई बार्सिलोना फर्कन आग्रह गरेको बताइएको छ । फ्रान्स फुटबलका अनुसार मेस्सीले नेइमारलाई एउटा ह्वाट्सएप म्यासेज पठाएका छन् जसमा उलने ‘हामीले साथमा मात्र च्याम्पियन्स लिग जित्न सक्छौं’ भनेका छन् ।
‘म चाहन्छु तिमी फर्क । २ वर्षमा म बार्सिलोना छाड्दैछु । त्यसपछि तिमी एक्लै हुनेछौं । तिमीले मेरो ठाउँ लिनेछौ’ मेस्सीले सन्देशमा लेखेका छन् । केही समयदेखि नेइमार पिएसजीबाट निस्कन चाहिरहेका छन् तर बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित छ । मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२०–२१ सिजनको अन्त्यमा समाप्त हुँदैछ तर बार्साका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडाल भने यो सम्झौता थप्ने पक्षमा छन् ।
स्पेनिस आउटलेट स्पोर्टसँग कुरा गर्दै अबिडालले भनेका छन् ‘उनी हाम्रो लागि मुख्य खेलाडी हुन् र उनी अहिलेको सम्झौता सकिएपछि जाने विकल्प रोज्न स्वतन्त्र छन् । तर, मलाई थाहा छ अध्यक्षले उनका प्रतिनिधिसँग कुरा गरिरहनुभएको छ ताकि सम्झौतालाई पूर्णता दिन सकियोस् । म आशा गर्छु उनी वर्षौंसम्म यही बस्नेछन् र मलाई लाग्छ त्यही नै मुख्य कुरा हो । यो लियो (मेस्सी)को निर्णय हुनेछ । उनी भन्छन् उनको लागि बार्सिलोना नै पहिलो र सर्वोत्कृष्ट रोजाइ हो । उनी सर्वोत्कृष्ट हुन् ।’
फेसबुकबाट तपाइको प्रतिक्रिया