मुगु । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ।
जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन्।
यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ। गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको र बैंकका सबै प्रणाली चलाउन समस्या आएको जानकारी दिए ।
बैँकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ।
छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णुबहादुर भण्डारी बैंकमा रहेको आफ्नो खातामा बचत के कति छ भनेर बुझ्न आएको तीन घण्टा भइसक्दा पनि थाहा पाउन नसकेको गुनासो गरे।
इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन्।
जिल्लाकै ठूलो वित्तीय संस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहीले लघुवित्तको कारोवार, लगानी, बचत, भुक्तानीजस्ता काम गर्न समस्या भएको जानकारी दिए ।
टाढा– टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन्।
प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन्। नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन्।
इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ।
योजना तथा कार्यक्रमको भुक्तानी दिन जिल्लामा रहेका चार स्थानीय तहलाई समस्या भएको छ।
वित्तीय कारोवार गर्न सफ्टवेयर नचल्दा आफूहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजङ्ग रावल जानकारी दिए ।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिङ्क, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् ।
यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त छ । टेलिकमको थ्रिजी सेवा गाउँ–गाउँसम्म विस्तार भएकाले सर्वसाधारण पनि मोबाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोवार र सेवा लिने गर्दै आएका छन्।
डाँफेलेकमा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले टावरमा के–कस्तो समस्या हो बुझ्न जानसमेत प्राविधिकलाई समस्या परेको जनाइएको छ।
नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ। रासस
फेसबुकबाट तपाइको प्रतिक्रिया