भलिबल क्लब च्याम्पियनसिप माघ पहिलो साता

काठमाडौं । नेपाल भलिबल संघले आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी माघ ३ देखि १० गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन गरिने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहने संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँबजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने महासचिव चन्दले बताए।

यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा २३ लाख खर्च हुने संघले जनाएको छ ।

सो अवसरमा संघलाई सहयोग गर्दै आएका राष्ट्रिय वाणिज्य बैंकलगायतलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया