काठमाडौँ । ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित गर्यो ।
चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ।
यस्तै समूह ‘ए’बाट चार अङ्कसहित दोस्रो भएको ललितपुरसमेत क्वाटरफाइनलमा पुगेको छ।
सो समूहमा रहेको भक्तपुर नगरपालिका प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिए।
यस्तै समूह ‘सी’बाट महालक्ष्मी तथा पनौती नगरपालिका पुरुषतर्फको खेलमा क्वाटरफाइनलमा पुगेका छन् । उक्त समूहबाट टोखा नगरपालिका बाहिरिएको छ।
समूह ‘डी’अन्तर्गतको खेलमा पुरुषतर्फ गोकर्णेश्वर तथा कमलामाई नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४ र २५–१९ अङ्कले हरायो।
यस्तै कमलामाईले गोदावरी नगरपालिकालाई २५–१३, २५–१८ र २५–१८ अङ्कले पराजित ग¥यो ।
यसैगरी महिलातर्फको खेलमा विदुर, गोकर्णेश्वर र चन्द्रागिरि नगरपालिका विजयी भएका छन्। विदुरले टोखा नगरपालिकालाई २५–२२, २५–५, २३–२५ र २५–९ अङ्कले हरायो।
गोकर्णेश्वरले हेटौँडालाई २५–१६, २५–११ र २५–२२ अङ्कले तथा चन्द्रागिरिले बनेपा नगरपालिकालाई २५–७, २५–९ र २५–५ अङ्कले पराजित गर्यो।
ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताए ।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ।
फेसबुकबाट तपाइको प्रतिक्रिया