भेटिए श्याम परदेशीभन्दा खुंखार साहुकार

लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।

सलार्हीको बागमती–७ राजघाटका ४५ वर्षीय जवाहर साहले जग्गा खरिद गर्दा १० लाख ऋण लागेको थियो । ३६ प्रतिशतका दरले ब्याज तिर्नुपथ्र्यो । चर्को ब्याजबाट मुक्ति पाउन उनले साहुकार रायसँग १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर ०६८ मा १२ लाख ५० हजार ऋण लिए । साहुकार रायले २३ लाखको कपाली तमसुक पनि बनाए । ब्याजको दर ३६ प्रतिशत तोके ।

ठेक्कामा जग्गा लिएर खेती गर्ने साहले कमाएजति रकम बन्धकी राखेको जग्गा फिर्ता गर्न साहुकार रायलाई बुझाउँदै गए । ८ भदौ ०७१ सम्म उनले १७ लाख बुझाइसकेका थिए । जग्गा फिर्ता लिन जाँदा थाहा पाए बन्धकी राखेको जग्गा त साहुकार रायले पहिला नै २२ लाख ८८ हजारमा अर्कैलाई बेचिसकेका रहेछन् ।

साह छाँगाबाट खसेझैँ भए । तैपनि साहुकारका अगाडि निरीह बने । जग्गा फिर्ता पाउने आस मरेपछि उनले २३ लाखको कपाली तमसुक च्यातिदिन आग्रह गरे । तर, साहुकार रायले साढे १२ लाख ऋणको ब्याजसमेत गरेर उल्टै ४५ लाख तिर्नुपर्ने हिसाब सुनाए ।

साहुकारको ऋणले थिचिएका साह ब्याजको हिसाब सुनेर झन् गले । केही उपाय नलागेपछि उनी गुहार माग्दै काठमाडौं आइपुगेका छन् । ‘बागमती नदीको किनारमा पुर्ख्यौली जायजेथा थियो । नदीले बगाएपछि राजघाट सर्‍यौँ । ऋण गरेर थोरै जग्गा जोडेको थिएँ, साहुकारले उठिवास लगाउने भयो । जिन्दगीले अब कहाँ पुर्‍याउँछ केही टुंगो छैन,’ काठमाडौंको भोटेबहालस्थित आफन्तको शरणमा रहेका साहले पीडा सुनाए ।

साहुकार रायले राजघाटकै ४७ वर्षीय छविलाल साहलाई पनि उस्तै शोषण गरेका छन् । ०६४ साउनमा छविलालले १७ कट्ठा जमिन दृष्टिबन्धक र चार लाखको कपाली तमसुक गरेर रायबाट चार लाख २५ हजार ऋण लिएका थिए ।

पटक–पटक गरेर उनले आठ लाख ५२ तिरिसके । तैपनि साहुकार रायले न जग्गा फिर्ता दिएको छ, न तमसुक च्यातेको छ । उल्टै धम्क्याउने गरेको छ, ‘तिम्रो साथी जवाहर साहले ४५ लाख नतिरेसम्म केही फिर्ता पाउँदैनौ ।’

‘यो साहुकारले मलाई मात्रै होइन, मेरा बहिनीलाई पनि उठिवास लगाउने भएको छ । बहिनीले पनि जग्गा बन्धक र कपाली तमसुक गरेर ऊसँग तीन लाख ६५ हजार ऋण लिएकी थिइन् । सात लाख ७५ हजार तिरिसकिन् । तैपनि जग्गा फिर्ता गर्दैन । हाम्रो त उठिवास हुने भयो हजुर !’ छविलालले भने ।

रायको ऋणमा डुबेका राजघाटकै ४५ वर्षीय मोहन साहको पीडा पनि हृदयविदारक छ । उनका बुबाले रायसँग ऋण लिएका थिए । तर, ऋण कति हो भन्ने जानकारी मोहनलाई अहिलेसम्म छैन, साहुकार रायले पनि उनलाई बताएका छैनन् । जब कि, मोहनका बुबाले ऋण तिर्न भनेर एक बिघा जग्गा बेचेका थिए ।

‘बुबा बितेपछि पनि साहुकारले पैसा माग्न छाडेन, मैले फेरि दुई बिघा दुई कट्ठा जग्गा दृष्टिबन्धक राखेँ । १५ वर्ष भयो पैसा तिरिरहेकै छु,’ मोहनले भने ।

राजघाटकै रूपलाल साहले पनि २५ जेठ ०६४ मा रायसँग दुई लाख ५० हजार ऋण लिए । बदलामा सात कट्ठा जग्गा उनको नाममा पास गरिदिए । त्यसपछि पनि रायले पाँच लाख रुपैयाँको कपाली तमसुकमा सही गरायो ।

पटक–पटक गरेर रूपलालले ६ लाख १५ हजार तिरिसकेका छन् । तैपनि जग्गा फिर्ता पाएका छैनन् । एउटा खसी दिएर घरजग्गा कब्जा गर्ने रामबाबु राय यादव राजपाका केन्द्रीय सदस्य ।

उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवार भएर दुई हजार नौ सय ९९ मतसहित तेस्रो भएका थिए । त्यस्तै, अर्का साहुकार सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए । सर्लाही २ (क) बाट उनी चार हजार ६ मत पाएर दोस्रो भएका थिए । उनीसँग भारतीय नागरिकता पनि छ ।

रौनियारले पनि सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा आफ्नो नाममा पार्दै आएका छन् । उनले पनि सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायतका एक हजारभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी रकमको कागज गराएको पीडितहरूले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया