पर्यटकको खर्च पत्ता लगाइँंदै

आर्थिक सर्वेक्षणअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले दैनिक औसत पाँच हजार श्रपैयाँ खर्च गर्छन् अर्थात् ४४ डलर । यो अघिल्लो वर्षको ७२ डलरबाट घटेर त्यति पुगेको हो तर पर्यटकले नेपाल बसाइमा गर्ने वास्तविक खर्च त्योभन्दा निकै धेरै हुनुपर्ने अनुमान नेपाल पर्यटन बोर्डको छ ।

एकातिर पर्यटकको खर्चमा देखिएको गिरावट र अर्कोतिर वास्तविक खर्चको आशंकाबीच बोर्डले खर्चको यकिन गर्न अनुसन्धान गर्ने तयारी गरेको छ । पर्यटन क्षेत्रको समग्र जानकारी समेटिने गरी ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ तयार गर्ने प्रारम्भिक चरणअन्तर्गत बोर्डले वास्तविक खर्च पत्ता लगाउन तयारी सुरु गरेको बोर्ड अनुसन्धान विभागका प्रमुख मणि लामिछानेले जानकारी दिए ।

अहिले पर्यटक नेपाल भित्रिएपछि त्यसले अर्थतन्त्रमा पु¥याउने योगदानबारे जुन तथ्यांक छ, त्यो वास्तविक छैन,’ उनले भने । राष्ट्र बैंकले पर्यटकले भ्रमणबापत गर्ने खर्चको तथ्यांक प्रस्तुत गरे पनि औपचारिक माध्यममार्फत हुने खर्च अझ बढी रहेको उनको भनाइ छ । बोर्डले खर्चको यस्तै अस्पष्ट तथ्यांकबीच त्यसको वास्तविकता पत्ता लगाउन इच्छुक अनुसन्धानकर्तासँग आवेदनसमेत माग गरेको छ ।

अनुसन्धानकर्ताले पर्यटक खर्चबाहेक अन्य एक दर्जन क्षेत्रमा पनि अध्ययन गर्नुपर्ने बोर्डले जनाएको छ । नेपालमा रहेका धार्मिक तथा आध्यात्मिक सर्किट, पदमार्ग तथा साहसिक पर्यटकीय गतिविधि, पर्यटनको स्रोत बजारको अध्ययन पनि अनुसन्धानकर्ताको जिम्मेवारीमा राखिएको छ ।

पर्यटकीय पूर्वाधार विकासका लागि विस्तृत परियोजना प्रतिवेदनको तयारी, ¥याफ्टिङ प्रोफाइल निर्माण, प्रदेशस्तरीय पर्यटन विकास कार्यक्रम र पर्यटन योजनाको समीक्षा पनि अनुसन्धानकर्ताले गर्नुपर्ने छ । लामिछानेका अनुसार अनुसन्धानकर्ताले पर्यटन र सेवा उद्योगबीच रहेको खाडलको अध्ययन गरेर बोर्डलाई सुझाव पनि दिनुपर्ने छ ।

समग्र अध्ययनले नेपालको पर्यटनको वास्तविक अवस्था पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा बोर्डको छ । कुल गार्हस्थ उत्पादनमा पर्यटनको विद्यमान योगदान र भविष्यको लक्ष्य निर्धारणमा पनि यो अनुसन्धान सहयोगी हुने विश्वास बोर्डले लिएको छ ।

सरकारले सन् २०२५ सम्म पर्यटन क्षेत्रको योगदान अर्थतन्त्रमा १० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । भ्रमण वर्षलाई आधार वर्ष मानेर यस्तो लक्ष्य पूरा गर्ने योजनामा सरकार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारम्बार बताउँदै आएका छन् ।

त्यस्तै पर्यटनलाई अर्थतन्त्रको अंगका रूपमा स्थापित गर्न आगामी दशकलाई पर्यटन दशकको रूपमा नीतिगत रुपमै घोषणा गर्ने योजना सरकारको छ । अर्थतन्त्रमा पर्यटनको योगदान बढाउने लक्ष्यसहित नै घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गत हप्ता मात्रै भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया