बढ्दो मानव तस्करीः कहाँ हराउँछन् उनीहरू ?

इलाम । मानव तस्करीका हिसाबले इलाम जोखिमपूर्ण मानिन्छ। सीमापारिको मिल्दो संस्कृतिसहित विभिन्न चोरबाटा भएकाले देशभरबाट मानव तस्करीका लागि इलाम जिल्ला प्रयोग गरिएका उदाहरण प्रशस्तै छन्। तर जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा भने पछिल्लो समय मानव ओसारपसार र बेचबिखनसम्बन्धी उजुरी भने परेका छैनन्।

माइती नेपालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३१ जना हराएका छन्। त्यसमध्ये १० जना मात्र फेला परे। अरू कता छन्, कसैलाई पत्तो छैन।

पूर्वी सीमावर्ती क्षेत्रको पशुपतिनगरमा प्रहरी र माइती नेपालले संयुक्त रूपमा चेकजाँच गर्छन्। आसपासका नाकामा पनि जाँच हुने गरेको छ। तर मानव तस्करीमा संलग्नले विभिन्न बहाना बनाएर पूर्वी नाकाहरूबाट मानव बेचबिखन गर्ने गरेको नियन्त्रणमा सक्रियहरू नै स्विकार्दै आएका छन्।

गत वर्ष मानव बेचबिखनसम्बन्धी ६ मुद्दा दर्ता भएका थिए। २ पुरुष र २ महिलालाई कारबाही गरेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७४र७५ मा १ बालिका र १ महिलासम्बन्धी उजुरी थियो। त्यो वर्ष २ पुरुष र १ महिलालाई कारबाही भयो।

‘प्रहरीमा उजुर गर्नुपर्छ भन्ने चेतनाको कमीले पनि यस्तो भएको हुन सक्छ,’ इलामका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले भने, ‘उजुरी गर्दा खर्च धेरै लाग्ने, झन्झटिलो प्रक्रिया हुने भन्ने ठानेर पनि पीडित परिवार प्रहरीसम्म आउँदैनन्।’

मानव ओसारपसारसम्बन्धी छुट्टै कानुन नै निर्माण भएर कार्यान्वयन भएको अवस्थामा पनि यस्ता घटनामा कमी नआएको उनको भनाइ छ। ‘पहिला देह व्यापारका लागि भारतमा महिलाहरू लगिने गरेको भए पनि अहिले विश्वभरका मुलुकमा नेपाली चेलीहरू पुर्‍याइएका छन्,’ उनले थपे, ‘मानव तस्करीमा संलग्नले नयाँ–नयाँ तरिका अपनाएर पनि धन्दा चलाइरहेका छन्।’

देहव्यापार, मानव अंग निकाल्ने, श्रम शोषणलगायत कारण नेपालीहरू तस्करीमा पर्ने गरेको सम्बन्धितहरूको भनाइ छ। यसका लागि सरकारी र सामाजिक संघसंस्थादेखि घरपरिवार, विद्यालय, समाज सबै चनाखो हुनुपर्ने अवस्था आएको उनीहरूको बुझाइ छ। कान्तिपुर दैनिकमा खबर छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया