काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । नेकपाले सोमबार संसदीय दलको बैठक बोलाएको छ । सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ । १० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२/०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।
सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया