मानव तस्करीको नयाँ रूट : उड्छन् बाकु, पुग्छन् दुबई

मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ।

एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए। तीमध्ये १ सय ३६ महिला थिए। अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरू यूएई ट्रान्जिटमै हराएको स्रोतले बतायो।

फस्ने÷दुःख पाउने घटना धेरै भए पनि यूएई र कुवेत घरेलु कामदारलाई फकाउन सजिला देश हुन्। घरेलु कामदारका लागि सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले हरेक हत्कन्डा प्रयोग गरेर त्यहाँ लैजाने धन्दा रोकिएको छैन। वैदेशिक रोजगार कार्यालय ताहाचलले अजरबैजानका भिजिट भिसालाई सेटिङमा श्रम स्वीकृति दिएको खुलेको छ। त्यसका लागि कम्प्युटर सफ्टवेयरमार्फत विवरण फेरिएको देखिन्छ।

भिसामा भ्रमणको प्रयोजनमा ‘वर्क’ (काम) लेखिएको छ। तर, बस्ने अवधिमा ३० दिन मात्र छ। ‘सच्याउँदा भ्रमणको प्रयोजन मात्र मिलाउन ध्यान पुगेको हुन सक्छ’, उक्त कार्यालयका कर्मचारीले भने, ‘देखेका भए अवधि पनि दुई वा तीन वर्ष बनाउन सक्थे।’

यूएईमा मानव तस्करी बढेपछि सरकारले त्यहाँको भिजिट भिसामा समेत कडाइ गर्दै आएको छ। अजरबैजानमा भिजिट भिसा पाउन सजिलो छ। २० डलर तिरेमा अनलाइन भिसा मिल्छ। त्यही भएर मानव तस्करीका लागि यो ‘सूत्र’ प्रयोग हुन थालेको हो।

पछिल्लोपटक यहाँबाट उडाइएका अधिकांश महिलाले क्लिनर पदका लागि ताहाचलबाट स्वीकृति लिएका छन्। स्रोतका अनुसार वैदेशिक रोजगार कार्यालय ताहाचल, त्रिभुवन विमानस्थल र एयरलाइन्ससँगको मिलेमतोमा मानव तस्करले यसलाई सम्भव तुल्याउँदै आएका छन्।

डिसेम्बर १७ देखि जनवरी १३ सम्म गएका १ सय ४१ जना एयर अरेबिया र फ्लाई दुबईबाट उडेका थिए। सारजाह र दुबई हुँदै अजरबैजानको बाकु पुग्नुपर्नेमा उनीहरू ट्रान्जिटमै हराएका हुन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया