
काठमाडौं। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्र विरोधी भन्दै शाही युवा शक्ति नेपालले अमेरिकी दूतावास घेराउ गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाह निकट मानिने शाही युवा शक्तिले नेपालले मंगलबार एमसिसीको विरोधमा अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो।
एमसिसी संसदबाट पारित भए अमेरिकी सेना नेपाल छिर्ने र नेपाल विदेशी सेनाको रणभूमि बन्ने भन्दै शाही युवा शक्तिले एमसिसीको विरोधमा प्रदर्शन गरेको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले दाबी गरे।
‘एमसिसी संसदबाट पारित गरेर नेपालले त्यसलाई स्वीकार गरे नेपाल विदेशी सेनाको रणभूमि बन्ने पक्का छ,’ अध्यक्ष खड्काले डिसी नेपालसँग भने, ‘यो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्छ।’
शाही युवा शक्ति नेपाल पूर्व राजा ज्ञानेन्द्र निकट युवा संगठन हो। मुलुकमा राजतन्त्रको पुर्नस्थापना गर्नुपर्ने माग गर्दै आएको संगठनले एमसिसीको विरोध गरेपनि संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले भने एमसिसी मुलुकको हितमा भएको भन्दै संसदबाट पारित गर्नुपर्ने जनाएको छ।
तर शाही युवा शक्ति नेपालले भने एमसिसी खारेज हुनुपर्ने माग गर्दै आएको छ। ‘एमसिसीका विषयमा पूर्व राजालाई पनि चिन्ता छ,’ अध्यक्ष खड्काले भने, ‘हिजो विभिन्न राजाको कार्यकालमा पनि अमेरिकाले एमसिसी सम्झौता गर्न आग्रह गरेको थियो। तर राजाले देशको अहित हुने गरी कुनै सम्झौता गरेनन् बरु राजा नागरिक हुन तयार भए।’
उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको कार्यकालमा पनि अमेरिकाले एमसिसी सम्झौता गर्न आग्रह गरेको दाबी गरे। तर तत्कालीन राजा ज्ञानेन्द्रले त्यसलाई अस्वीकार गरेको उनको भनाइ थियो।
फेसबुकबाट तपाइको प्रतिक्रिया