नेकपा केन्द्रीय कमिटी बैठक: सरकार र पार्टीबीच समन्वय हुन सकेन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ ।

राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेश गर्र्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ ।  ती समूहले समाजको चरित्र, व्याख्या विश्लेषण गरी नेपाली नमूनाको समाजवाद निर्माण गर्नुपर्ने मुख्य सुझाव दिएका छन् । समूहका ५ का नेता ठाकुर गैरे नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिए।

समूह १५ का नेता हिमाल शर्माले समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट शुरुआत गर्नुपर्ने बताए। उनले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिए ।  “पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् । त्यो लगानी एक वर्षभित्र फिर्ता आउनुपर्दछ”, उनले भने, “यही आउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुप¥यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन । पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । ”

समूह ५ का नेता गैरेले भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।

“घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ”, उनले भने, “भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।”

नेता गैरेले नेकपाका नेता कार्यकर्ताको जीवनशैली, चालचलन, आचारविचार, सरसम्बन्ध पूर्णरूपमा सरल र जनपक्षीय हुने कुरा सुनिश्चित गरिनुपर्ने आफ्नो प्रतिवेदनमा समेटेका छन् ।

समूह ३ का नेता खिमलाल भट्टराईले मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए। उनले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले संचालन गर्नुपर्ने बताए । उनले भने, “सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियानमा सञ्चालन गर्नुपर्दछ ।”

नेता भट्टराईले पार्टी नेतृत्व एकताबद्ध भएर सरकारले गरेका उपलब्धिको प्रचार गर्न लाग्नुपर्ने सुझाव दिए । समूह १५ का नेता शर्माले पार्टीले नै सरकार चलाउने कुनै पनि महत्वपूर्ण निर्णय लिँदा पार्टी पक्तिसँग सल्लाह गरेर मात्र गर्नुपर्ने भन्दै पार्टीको सहमतिमा राजनीतिक नियुक्तिदेखि विधेयक ल्याउनुपर्ने बताए ।

शुक्रबारदेखि सुरु भएको अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो समूहगत प्रतिवेदन पेश गर्ने कार्य आज सम्पन्न भएको छ ।

समूहका नेताले प्रतिवेदनमाथि टिप्पणी र सुझाव दिँदै समूहको तर्फबाट प्रतिवेदन पेश गरेका हुन् । आज समूह–३ का नेता भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले आ–आफ्नो समूहबाट प्रतिवेदन पेश गरे । यसैगरी समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता शर्माले पनि पेश गरे ।  शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आआफ्नो समूहको प्रतिवेदन पेश गरेका थिए ।

समूहगत प्रतिवेदनमाथि आइतबार पार्टीका शीर्ष नेताले जवाफ दिइने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यही १५ गतेदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक आइतबार सकिने कार्यतालिका रहेको छ । रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया