प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभ(ागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

रणनीतिअनुसार सरकारले सरोकारवाला संरक्षण समूहलाई सीधै बजेट दिएर संरक्षणका लागि प्रेरित गर्छ । सिमसारमा आउने परिवर्तन विश्वव्यापी जलवायु परिवर्तनको असरसँग जोडिएको उहाँ प्रस्ट्याउँछन् । महानिर्देशक भट्टराईले भने, “नेपाल पहाड र हिमाल धेरै भएको देश हो, माथिबाट पानी बगेपछि थेग्रिने क्रम बढी हुन्छ । यसले सिमसार क्षेत्र कमजोर बनाउँदै पानीको तह गहिराइमा पु¥याउँछ । सिमसार संरक्षण गर्दा प्रकृतिको विरुद्ध नगई अलिक फरक किसिमले व्यवस्थापन गर्न मात्र सकिने छ ।”

विश्वभर नै यो दिवसका अवसरमा विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका प्रस्तुत गरी सिमसारको महìव, आवश्यकता र उपयोगिताबारे जनचेतना अभिवृद्धि गरिने निकुञ्जका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए । सोहीअनुसार नेपालमा पनि सिमसार क्षेत्रमा भए गरेका कार्यलाई जनसमक्ष पु¥याउन विश्व सिमसार दिवसमा देशैभर विविध कार्यक्रम गरिने उनले जानकारी दिए ।

घट्दैछन् सिमसार क्षेत्र

नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्र्मीहरू बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदैछ ।

चुरे भावर क्षेत्रमा रहेको यो निकुञ्जको सिमसार क्षेत्र र पानीको स्रोत भनेको चुरे क्षेत्र नै हो तर यस क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोतको अत्यधिक दोहन हुँदा निकुञ्जमा हरेक वर्ष पानीको अभाव हुने गरेको छ । सिमसार क्षेत्र प्राकृतिक अवस्थामा रिचार्ज नहुँदा कृत्रिम पोखरीमा अन्यत्रबाट पानी बोकेर जम्मा गर्नुपर्ने अवस्था छ ।

निकुञ्ज प्रमुख अमिर महर्जनले भने, “भाँडामा बोकेर ल्याएको पानी कङ्क्रिटको पोखरीमा खन्याउनुपर्ने बाध्यता छ, वन र वन्यजन्तुका लागि पानी छ कि छैन भनेर अनुगमन गरेर तयार बस्नुपर्छ, गत वर्ष बनाएकासहित ८० वटा पोखरी यसपाला अझै व्यवस्थापन गरेर सिमसार क्षेत्रको विकल्प खोजिँदैछ ।”

सुक्खा मौसममा पर्सा मात्र हैन, बाँके, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा पनि पानीको तह घट्दा कृत्रिम पोखरी बनाउनुपर्ने बाध्यता बढेको छ । सबैभन्दा राम्रो मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत पछिल्लो समय धेरै कृत्रिम ताल बनिसके । सिमसार क्षेत्रमा आएको ह्रासकै कारण एकसिङे गैँडाका लागि घोलको अभाव हुने गरेको छ ।

यसपाला पानी परिरहेकाले अहिलेसम्म समस्या देखिएको छैन । “तर निकुञ्जका तालतलैया सुकेको खण्डमा कृत्रिम पोखरीमार्फत पानी सञ्चार गर्न तयारी अवस्थामा छाैं,” चितवन निकुञ्जका सहायक वार्डेन वेदबहादुर खड्काले भने । उनका अनुसार रामसार सूचीमा सूचीकृत बीसहजारी तालको संरक्षण गर्दै बरण्डाभार क्षेत्रका वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न निकुञ्जले प्रयास गरिरहेको छ । निकुञ्जका ५८ वटाभन्दा बढी कृत्रिम पोखरी सिमसारकै विकल्पमा स्थापित गरिएका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया