प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित

खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएका छन् । खाँदबारी नगरपालिकाले शनिबार उनीहरु लगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो।

उनीहरुलाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ। ‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ।

देशकै प्रतिष्ठा बढाउन योगदान पुर्याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐनल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई प्रदान गरिएको छ।

‘खाँदबारी रत्न’ पदकबाट खाँदबारी–१ निवासी पूर्वगृहसचिव प्रेमकुमार राई, स्व दुर्गादेवी घिमिरे, खाँदबारी नगरपालिकाका प्रथम प्रमुख स्व किरण शाक्यलाई विभूषित गरिएको छ।

घिमिरे र शाक्यलाई मरणोपरान्त सम्मान गरिएको हो। ‘खाँदबारी तारा’ पदक स्व लोकगायक खेमराज गुरुङ, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, संयुक्त राष्ट्रसङ्घका स्थायी प्रनिनिधि अमृत राई, डा. हिरामणि घिमिरे, लोकगायक नवीन खड्कालाई प्रदान गरिएको छ।

‘खाँदबारी ज्योति’ पदक डा. बीना राई, जयप्रसाद चापागाईँ, हरिप्रसाद भण्डारी, कृष्ण गोपाल, सोमराज अभयलाई विभूषित गरिएको छ।

यसैगरी ‘खाँदबारी पौरख’ पदक जगत शाक्य, लक्ष्मीप्रसाद गुरुङ, चक्र बिसुन्के र ‘खाँदबारी समाजसेवाश्री’ सूर्यबहादुर श्रेष्ठ, जयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको थियो।

त्यसैगरी ‘खाँदबारी सेवाश्री’ बीनाकुमारी शाक्य, बिष्णु बुढाथोकी, मदन अर्याल, खेमराज नेपाल, सुरेन्द्र विष्ट र नइन्द्र मगरलाई विभूषित गरिएको छ।

विसं २०५३ मा स्थापना भएको खाँदबारी नगरपालिकाले स्थापना दिवसको अवसरमा मेयरकप भलिबल प्रतियोगिता, उपमेयरकप कबड्डी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया