एमसीसी कार्यदलको प्रतिवेदन हुबहु पास हुँदैन : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताएका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने,राजनीतिक र जनताको दुबै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको बताए ।

ठाडै अस्वीकृत र समर्थनभन्दा पनि जनतालाई बुझाउनुपर्‍यो भन्ने केन्द्रीय समितिको बैठकमा पनि उठेकाले राष्ट्रको हितमा हुने गरी एससिसी पारित हुने उनको भनाइ थियो । ‘छोटो समय दिएर सबैले बुझ्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढिसकेको छ । १० दिनभित्र प्रतिवेदन आइसकेपछि जे ल्यायो त्यही पास हुन्छ भन्ने होइन,’ उनले भने, ‘अध्ययन कार्यदलले सचिवालयमा पेश गरेपछि पार्टीले निर्णय गर्ने हुन्छ । जे ल्याए पनि त्यसैलाई मान्यता दिने काम हुँदैन । त्यसैलाई आधार बनाएर अगाडि बढ्छ । पहिले एमसीसीको विपक्षमा रहेका प्रचण्डले सभामुख पद आफूले रोजेको व्यक्ति पाएपछि बोल्न छाडेकोबारे पत्रकारले उठाएको प्रश्नमा उनले कुनै पदसँग यो विषय नसाटिएको बताए ।

राष्ट्रको हितमा कसरी बनाउन सकिन्छ भनेर छलफल गर्ने भनिएको बताउँदै प्रचण्डले कुनै पदसँग साटिएको भनेर बुझ्नु गलत हुने उनको भनाइ थियो । प्रचण्डले केन्द्रीय समितिको बैठकले भावनात्मक अन्तरघुलन गराएको बताए । ४ सय ५० जना केन्द्रीय सदस्यमा सबैले सबैलाई चिन्ने अवस्था नरहेका बेला छलफलले राम्रो अन्तरघुलन र भावनात्मक एकताको आधार तयार भएको उनको भनाइ थियो । ‘५ दिनसम्म बैठक बसेर सर्वसम्मत रुपमा निश्कर्ष निकालियो,’ प्रचण्डले भने, ‘सबै विषयमा सर्वसम्मतको निर्णय आउनु धेरै नै सकारात्मक परिघटना हो ।’

राष्ट्रिय सभाको निर्वाचन भएपछि पार्टी एक्लै दुईतिहाई बहुमतको अवस्थामा पुगेको प्रचण्डले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया