बालुवाटारको जग्गा प्रकरण : पूर्वमन्त्री गच्छदारसहित १७५ जनामाथि मुद्दा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार पूर्वमन्त्री विजय गच्छदार,चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गर्न लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो । पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेको थियो । अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

उनीहरुसँगै पूर्व मुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया