तरकारीमा झन् बढ्यो परनिर्भरता

देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५/७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ ।

हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ ।

चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो ।

आपूर्ति बढेन
बजारमा तरकारीको माग बर्सेनि बढेको छ तर यो अनुरूप आपूर्ति नहुँदा यसको भाउ पुस महिनासम्म महँगो भएको थियो । अहिले क्रमशः घटेको छ ।

समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक आठ सय मेट्रिक टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिए । चालू आर्थिक वर्षको सात महिनासम्म बजारमा उपत्यकावासीको मागअनुसार आपूर्ति नहुँदा भाउ निरन्तर उकालो लागे पनि अब भने सस्तो हुने सङ्केत देखिएको उनको दाबी छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा बजारमा एक लाख ५२ हजार २६० मेट्रिक टन तरकारी भित्रिएको छ ।

समितिका अनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई लाख २७ हजार ९५८ मेट्रिक टन तरकारी आपूर्ति भएको थियो भने आर्थिक वर्षमा २०७५÷७६ मा दुई लाख ८५ हजार ८९२ केजी तरकारी बजारमा भित्रिएको थियो ।

यो तथ्याङ्क हेर्दा तरकारीको आयात २४ प्रतिशतले बढेको देखिन्छ तर यो वर्ष भने चार प्रतिशत मात्रै आपूर्ति बढेकाले भाउमा असर परेको हो ।

तरकारीको माग प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बढेको समितिले जानकारी दिएको छ । मागअनुसार आपूर्ति नहुँदा भाउमा असर परेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया