कोरोना भाइरसः युद्धस्तरमा खटिँदै चीन

नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ। कोरोनाको उद्गमस्थल मानिने उहान सहर सबैभन्दा बढी प्रभावित छ।

तीन हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा रहेको हुपै प्रान्तमा पर्छ। हानच्याङ र छाङच्याङ नदीको बीचमा रहेको च्याङहान क्षेत्रको उर्वर भूमि उहान मध्य चीनको व्यापार र पारवहन ‘हब’ हो। उहानलाई नौ प्रान्त र सहरको ‘गेटवे’ नै मानिन्छ।

दोक्लम काण्डमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१८ मा उहानमै अनौपचारिक वार्ता भएको थियो। त्यसलाई ‘उहान भावना’ भनेर व्याख्या गरिएको थियो। यसकै दोस्रो संस्करणस्वरूप २०१९ अक्टोबरमा भारतको ममल्लापुरम (महाबलिपुरम) मा वार्ता भएको थियो।

उहानमा गत डिसेम्बरमा पहिलो पल्ट कोरोना संक्रमित व्यक्ति भेटिएको थियो। यहाँ संक्रमितको संख्या हजारौं पुगेको छ।

एक करोड १० लाख जनसंख्या भएको उहानसँगै आसपासका जोखिमपूर्ण सहरबाट अरू क्षेत्रमा भाइरस फैलिन नदिन जनवरी २३ देखि आवतजावत ठप्प छ। यति ठूलो प्रान्तको सदरमुकामबाट बहिर्गमन तथा आगमनमा रोक सन् १९४९ पछि यो पहिलो हो। अरू दर्जनौं चिनियाँ सहर पनि ठप्प छन्।

जसबाट अरू सहर, प्रान्त र क्षेत्र भाइरसबाट संक्रमण हुने अवस्थाबाट धेरै हदसम्म सुरक्षित छन्। आउजाउ तथा सार्वजनिक स्थानमा जमघट कम हुँदा संक्रमणको प्रसार रोकिन्छ।

चिनियाँहरू आफ्नो नयाँ वर्ष मनाउने तयारीमा रहेका बेला भाइरस देखापरेको थियो। चिनियाँ पात्रोअनुसार जनवरी २४ नयाँ ‘मुसा’ वर्षको पूर्वसन्ध्या थियो। योसँगै उनीहरू वसन्त चाड मनाउँछन्।

पुनर्मिलनका लागि सबै जना घर फर्किने अवधिमा हुने करौडौं चिनियाँको आवतजावतलाई विश्वमै ठूलो परिमाणमा आवतजावत हुने अवधि मानिन्छ।

कोरोनाले उनीहरूको योजना प्रभावित बन्यो। चीन र अरू देशमा पहिलो पटक भेटाइएका संक्रमित प्रायस् उहानवासी देखिएका छन्।

भाइरसबाट जोगिन र रोकथामका लागि आमचिनियाँले घर फर्किने र मुलुकभित्र घुम्ने योजना पनि रद्द गरे। उनीहरूले भाइरस र रोगको प्रतिरोध गर्न निर्धारित यात्रा मात्रै रद्द गरेनन्, भाइरसको फैलावट हुन नदिन सरकारलाई सहयोग गर्दै घरभित्रै बसे।

चीनले वसन्त चाडको बिदा सात दिनबाट लम्ब्याएको थियो। विश्वविद्यालय, विद्यालयको नयाँ सत्रलाई पछि धकेलिएको छ। उहानसहित आसपासका सहर मात्रै होइन, राजधानी बेइजिङसहित धेरै सहर र प्रान्तले महामारीविरुद्ध लड्न पहिलो स्तरको स्वास्थ्य संकटकाल घोषणा गरे।

कार्यालय र बस÷रेल÷सबवेमा भीड नियन्त्रण गर्न घरबाटै काम गर्ने ‘रिमोट वर्क’को प्रणाली लागू भएको छ। छिट्टै सर्ने यो भाइरस उहानको सम्पर्कमै नभएकामा पनि फैलिएको पाइएको छ। यो भाइरस संक्रमित कतिपय व्यक्तिमा लक्षण नदेखिने तर अरूमा सर्ने गरेको पाइएको विज्ञ बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया