चीनबाट १७५ नेपाली बोकेर काठमाडौँ आइपुग्यो विमान, ६ जना वुहानमै रोकिए

काठमाडौँ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनमा रहेका १७५ जना नेपाली लिएर वायु सेवा निगमको विमान काठमाडौँ आइपुगेको छ।

नेपाल एयरलाइन्सको चार्टर विमान नेपालीहरुको उद्धार गरेर आइतबार बिहान करिव ४ बजेतिर काठमाडौँमा अवतरण गरेको हो।

काठमाडौँ ल्याएसँगै उनीहरुको स्वास्थ्य परिक्षण गरेर अहिले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ। उनीहरुलाई करिब १५ दिन क्वारेन्टाइनमा राखेर निगरानीमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तमा मात्र रहेका नेपालीको उद्धार गरेको हो। बेइजिंगस्थित दूतावासले स्वदेश फर्किन चाहने नेपालीको निवेदन संकलन गरेको थियो।

नेपाल फर्किने निवेदन दिएका मध्ये ४ जना नेपाल आउन नमानेको बताइएको छ।

वुहान विमानस्थलमा स्वास्थ्य जाँच गर्दा ६ जना नेपालीको शरीरको तापक्रम बढी पाइएपछि उनीहरुलाई चीनले स्वदेश फर्किन नदिएको बताइएको छ।

४ जना आउन नमानेको र ६ जना उतै रोकिएकाले वायु सेवाको विमानले १८५ मध्ये १७५ जनालाई मात्र नेपाल ल्याएको हो।

१७५ जना मध्ये १७० जना विद्यार्थी, २ बालबालिका, १ जागिरे र २ जना पर्यटक रहेको बेइजिंगस्थित नेपाली दुतावासले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया