संसदमा प्रधानमन्त्रीः सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष

प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् ।

सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद्समक्ष कामको फेहरिस्तसहित करिब डेढ घन्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विकासको सूचकांकले तथ्यांकका रूपमा मात्र नभएर जनताले अनुभूति गर्ने अवसर पाएको बताए ।

उनले राष्ट्रिय सभा निर्वाचन, स्थानीय तह र संसद्को उपनिर्वाचनमा देखिएको परिणामदेखि आर्थिक र मानव विकास सूचकांक हुँदै सूचना प्रविधि र पुनर्निर्माणको क्षेत्रमा देशले हासिल गरेको प्रगतिका १५ सूची अनुभूति गर्न सकिने सूचीका रूपमा प्रस्तुत गरे ।

‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ ? गर्छु होइन, गरेँ भन्नुपर्‍यो । काम गरेको देखिनुपर्‍यो नि, तथ्य खोइ ? भन्ने सुन्थेँ ।

अहिले परिवेश अलि भिन्न देखिएको छ । यो एक वर्षदेखि एउटा थेगोजस्तै अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ ? बुझ, भन्नेजस्ता कुरा सुनिन थालेको छ,’ इन्डेक्समा नभएर इम्प्रेसनमै कुरा राख्न खोजेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा वेलावेलामा म विस्मित हुने गर्छु । भनौँ कि जस्तो पनि लाग्छ, ठीकै छ । अंकमा होइन, अनुभूति नै सही इन्डेक्स होइन, इम्प्रेसनकै कुरा गरौँ न त !’

पहिलोलाई आधार वर्ष र दोस्रोलाई विकासको आरम्भ वर्षका रूपमा सरकारले लिएको चर्चा गर्दै उनले कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धता पूरा हुने दाबी गरे ।

वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने बलियो जगमा खडा भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना र दृढतासहित अघि बढिरहेको बताए ।

आफ्नो सरकार बन्नुअघि तराईमा शीतलहर र हिमाली क्षेत्रमा जाडोले कठ्यांग्रिएर ज्यान गुमाउने गरेकामा दुई वर्षयता कसैले पनि ज्यान गुमाउनु नपरेको विषय अनुभूति गर्न सकिने उनको भनाइ थियो ।

४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तोकिएको समयभित्रै पुनर्निर्माण गरिएको र जुनसुकै विमान पनि उड्न र बस्न सक्ने गरी विमानस्थल व्यवस्थित गरिएको उनले बताए ।

‘धेरै ठाउँमा एयरपोर्टहरूको विकास, विस्तार गरिएको छ र रात्रिसेवाहरू पनि अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ३२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय र झन्डै ९२ हजार आन्तरिक उडान हुने गरेका छन् । यो अंक पनि हो र अनुभूति पनि,’ प्रधानमन्त्री ओलीले भने ।

२४ वर्षदेखि चर्चामा सीमित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आफूले शिलान्यास गरेको १७ महिनामै सम्पन्न भएको, दक्षिण एसियामा नेपाल यसै अवधिमा पहिलो खुला दिसामुक्त मुलुक घोषणा गरेको उनको भनाइ थियो ।

त्यस्तै, ८९ प्रतिशत जनसंख्याको आधारभूतस्तरको खानेपानीमा पहुँच पुगेको, दुई वर्षमा तराई–मधेसका २० जिल्लामा चार सय ११ किलोमिटर ढल निर्माण गरिएको तथ्यांक पनि सदनसमक्ष प्रस्तुत गरे ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडामा आधुनिक प्रविधियुक्त स्यानेटरी ल्यान्डफिल्ड साइट निर्माणको पहिलो चरणको काम आगामी चैतभित्र सम्पन्न हुने बताए । सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढ्नुलाई पनि अनुभव नै हुने तहमा समृद्धिको झल्को दिन सकिने ओलीको भनाइ थियो ।

त्यस्तै, ६६ प्रतिशत जनसंख्याले इन्टरनेटको सुविधाको उपभोग गरेको, सबै जिल्लामा फोरजी सेवा पुगेको, भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण भएका तीन लाख ७४ हजार निजी घर, तीन सयभन्दा बढी सरकारी भवन र दुई हजार ६ सयभन्दा बढी विद्यालय भवन बनेको विषयलाई पनि उनले तथ्यांक मात्र नभएर अनुभूति गर्न सकिने प्रगतिका रूपमा अथ्र्याए । नयाँ पत्रिकामा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया