चीनको हुबे प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध

बीबीसी । कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ। आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।

हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।

नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ नाम दिइएको छ। यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।अर्कै घटनाक्रममा एउटा जापानी बन्दरगाहमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ।

उनीहरूमध्ये ४० जनामा नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले जनाएको छ।

हुबेमा नयाँ के गरिँदैछ ?

त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्। त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन्। अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ।

कोरोनाभाइरसबाट बालबालिका के कारण सङ्क्रमित भएका छैनन् ?

यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्। नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय ब्याङ्कले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ तथा प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ।

नयाँ घटनाक्रम के छन् ?

अधिकारीहरूले आइतवार २,००९ वटा नयाँ सङ्क्रमणका घटना पाइएको बताएका थिए। शनिवार नयाँ सङ्क्रमणका घटना २,६४१ र शुक्रवार ५,०९० घटना पाइएको थियो। सङ्क्रमित व्यक्तिको गणना गर्ने विधिमा परिवर्तन ल्याइएपछि गत हप्ताको आरम्भतिर ह्वात्तै सङ्ख्या बढे पनि त्यसपछि घट्दो क्रममा छ।

चीनमा आइतवारसम्म ६८,५०० व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। यो सङ्ख्याले चीन नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सकिरहेको देखाएको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बताए।

“देशका विभिन्न भागमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरिएको देख्न सकिन्छ,” उनले थपे। चिनियाँ विदेशमन्त्री वाङ यीले हुबे प्रान्तमा सङ्क्रमित हुनेहरूको सङ्ख्या घट्दै जानुका साथै निको हुने मानिसहरूको सङ्ख्या पनि बढ्दो रहेको बताए। देशभरि ‘गम्भीर अवस्था’का बिरामीहरूको सङ्ख्या १५ प्रतिशतबाट घटेर सात प्रतिशत पुगेको चीनको स्टेट काउन्सिलले जनाएको छ।

ताइवानमा नयाँ कोरोनाभाइरसका कारण मृत्युको पहिलो घटना भएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार ६१ वर्षीय एक ट्याक्सीचालकको मृत्यु भएको हो। हुन त उनले हालसालै विदेश भ्रमण गरेका थिएनन् तर उनलाई मधुमेह र हेपाटाइटिस बी थियो।

स्वास्थ्यमन्त्रीका अनुसार ती चालकले चीनबाट आएका धेरै मानिसहरूलाई चाहिँ आफ्नो ट्याक्सीमा चढाएका थिए।

अन्यत्रको स्थिति कस्तो छ ?

चीनबाहिर झन्डै ३० वटा मुलुकमा ५०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन्। चीनबाहिर फ्रान्स, हङ्‌कङ, द फिलिपिन्स र जापानमा चार जनाको मृत्यु भएको छ। यसैबीच चिनियाँ सरकारी सञ्चारमाध्यमले ज्यानुअरी ७ तारिखमा राष्ट्रपति सी जिन्पिङले नयाँ कोरोनाभाइरसको प्रकोप नियन्त्रणका लागि दिएका निर्देशन प्रकाशित गरेका छन्।

त्यतिबेला वुहान सहरका अधिकारीहरूले कोरोनाभाइरसको समस्यालाई लुकाउन खोजिरहेका थिए। यसको अर्थ नयाँ कोरोनाभाइरसबारे सार्वजनिक रूपमा जानकारी गराउनुअघि वरिष्ठ नेताहरू सो भाइरसको सम्भावित खतराबारे अवगत थिए।

नयाँ कोरोनाभाइरस प्रकोपसँग सङ्घर्ष गर्ने कुरालाई लिएर चिनियाँ सरकारले आलोचना खेपिरहेको छ। अनि यति बेला नेताका कुरा सार्वजनिक गर्नुलाई पार्टी नेतृत्व सुरुदेखि नै सो भाइरसलाई लिएर निर्णायक रूपमा कदम चालेको देखाउन खोजेको प्रयासका रूपमा विश्लेषकहरूले अर्थ्याएका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया