काठमाडौं । विशेष घटना र सन्दर्भका कारण विवाद तथा चर्चामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गरेका छन् ।
बलात्कारको प्रयास गरेको भनी आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारले लगाएको आरोप दाबी पुग्न नसक्ने उल्लेख गर्दै पूर्वसभामुख महरालाई सफाइ दिएको हो।
संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लागेपछि महरालाई गत असोज १९ गते पक्राउ गरी हिरासतमा राखिएको थियो। सो आरोप लागेपछि महराले भने सभामुख पदबाट सोही महिनाको १४ गते नै राजीनामा दिएका थिए ।
अदालतले सफाइ दिएपछि महरा सोमबार नै डिल्लीबजार कारागारबाट रिहा भएका छन् । अदालतबाट सफाइ पाएको पत्र पाएपछि कारागारले उनलाई रिहा गरेको हो। उनी १ सय ११ दिन कारागार बसेका थिए ।
सरकारले मुद्दा दायर गरेपछि काठमाडौं जिल्ला अदालतले तारेखमा छुटाउन अस्वीकार गरेको थियो। आफूलाई तारेखमा रिहा गर्न अस्वीकार गरेपछि उनी त्यसविरुद्ध उच्च अदालत पाटन गएका थिए ।
सो अदालतले पनि उनलाई तारेखमा रिहा गर्न अस्वीकार ग¥यो। काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम बहसमा भने उनीमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको छ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पीडित भनिएकी महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई जबरजस्ती गर्न नखोजेको भनी उल्लेख गरेकीले महरालाई सफाइ दिएको जानकारी दिए ।
यसै गरी फरेन्सिक रिपोर्टको आधारबाट पनि महरा निर्दोष देखिएको भनी प्रारम्भिक फैसलामा उल्लेख भएको स्रेस्तेदार श्रेष्ठले बताए । फरेन्सिक परीक्षण गर्दा महराको औंठाछाप नभिडेको भनी उल्लेख भएको बताइएको छ।
यसै गरी पीडित भनिएकी महिलाले आरोप लागेको दिन महरा आफ्नो कोठामा नआएको भनी कागज गरेकी थिइन् । महराले पनि आफू त्यहाँ नगएको बयानमा उल्लेख गर्नुभएको थियो। महरा गत असोज १३ गते ती महिलाको कोठमा गएको आरोप लागेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया