कक्षा ११ का अनिवार्य तीन विषयको पाठ्यपुस्तक मात्रै केन्द्रबाट तयार

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि सुरु हुने कक्षा ११ को नयाँ पाठ्यक्रममा अनिवार्य विषयका तीन पाठ्यपुस्तक मात्र लेख्ने भएको छ ।

कक्षा ११ मा पढाइ हुने ६४ ऐच्छिक विषयका पाठ्यपुस्तकलाई भने बजारबाट प्रतिस्पर्धाका आधारमा पठनपाठनका लागि स्वीकृति दिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा.लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ ।

महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए । ‘ऐच्छिक विषयमा नयाँ पाठ्यक्रमअनुसार तयार भएका बजारमा लेखिएका पाठ्यपुस्तकलाई नै स्वीकृति दिन्छौँ,’ उनले भने, ‘न्यूनतम अंक निर्धारण गरेर त्यसका आधारमा मल्टिटेक्स्ट बुक लागू गर्छौँ ।’

विभिन्न विषयका पुस्तक लेखकलाई पाठ्यक्रमअनुसार मिलाएर ल्याउन अनुरोध गर्ने र त्यसरी ल्याउनेमध्ये गुणस्तरीय पुस्तकलाई केन्द्रले स्वीकृति दिने पौडेलले बताए । केन्द्रले तयार पारेका ५० विषयका पाठ्यक्रम शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास परिषद्ले स्वीकृत गरिसकेको छ । अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम भएको र निजी विद्यालय सञ्चालकहरूले पनि गुनासो गरेका कारण लागू हुन सकेको थिएन । नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था छ । कक्षा ११ र १२ मा संकायका रूपमा विषय नछुट्याए पनि उच्च शिक्षा कुन संकायमा लिने भन्ने आधारमा विषय छनोट गर्न सक्ने व्यवस्था छ । साधारण र टेक्निकल धारमा पनि ऐच्छिक विषय हुनेछन् । कक्षा ११ र १२ मा तीन–तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ ।

कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक अध्ययन विषयलाई अनिवार्य गरिएको छ । यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीनवटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने व्यवस्था छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया