नेकपा विवादः जनआन्दोेलन कि जनयुद्ध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो।

कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्रीसमेत रहेका ओली सहभागी भएनन्। उनी प्रधानमन्त्री निवासमा विशेष काम परेको जनाउँदै सहभागी नभएका हुन्। कार्यक्रममा कार्यकारी अध्यक्ष दाहाल भने सहभागी भए।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल काठमाडौँमा भए पनि सो कार्यक्रममा उपस्थित भएनन्। नेता माधवकुमार नेपालले मुलुकबाहिर भएका कारण उपस्थित हुन नपाएको बताएका छन्।

ईश्वर पोखरेललगायत पूर्वएमाले खेमाका नेताहरु काठमाडौं भएर पनि सो कार्यक्रममा सहभागी भएनन्। पूर्वएमाले खेमाबाट उपाध्यक्ष वामदेवगौतम, महासचिव विष्णु पौडेललगायत थोरै मात्र कार्यक्रममा उपस्थित भए। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो।

पार्टी एकतापछि फागुन १ मा जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको थियो। सोही अनुरुप यस वर्ष पनि गत वर्षझैं पार्टी केन्द्रीय कार्यालयमा जनआन्दोल र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

‘पार्टी एकतापछि नेता र कार्यकर्ताको मर्मबमोजिम फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका क्रममा साहदत प्राप्त गरेकाको सम्मानमा श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको हो। त्यो निर्णयलाई पार्टीले तल्लो तहसम्म सर्कुलर गरेको हो’, स्थायी कमिटीका एक सदस्यले भने।

पूर्वएमाले खेमाका नेताले हिंसात्मक आन्दोलन अस्वीकार गरिरहेका बेला पार्टीले फागुन १ लाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर मध्यमार्ग अपनाएको भए पनि रुकुमलगायत पूर्वमाओवादी प्रभावित क्षेत्रमा केन्द्रको निर्णय उल्लंघन भयो।

निर्णय उल्लंघनसँगै सत्तारुढ नेकपामा जनआन्दोलन कि जनयुद्ध भन्ने विवाद सुरु भएको छ। पार्टीको आगामी महाधिवेशनमा यही विषयले प्रमुखता पाउने आकलन भइरहेका बेला यो विषय अहिले सतहमा आएको छ।

पार्टी एकीकरणकै बेला जनयुद्ध मात्र स्वीकारेर जानुपर्छ भन्ने पूर्वमाआवादी खेमाको भनाइलाई पूर्वएमाले खेमाले अस्वीकार गरेको थियो।

यसै कारण करिब–करिब पार्टी एकीकरण नहुने अवस्थामा पुगेपछि दुवै पक्षका शीर्ष नेताहरू यसमा शान्तिपूर्ण जनआन्दोलन पनि समेट्न सहमत भएपछि पार्टी एकीकरण भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया