एसिडपीडित चेलीलाई अनुहारको चिन्ता

काठमाडौं । एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।
चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै छिन् ।
एसिड आक्रमणपछि उनको पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ । उनले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लडिरहेको उनले बताइन् । जुन बेला उनमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।

मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उनी भने सामाजिक न्याय खोज्दै छिन् । उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाएकी छैनन् ।

समाजमा पुनर्स्थापना हुन सङ्घर्ष चल्दै गर्दा शरीरको पीडाले बेलाबेला झस्काइरहन्छ । ऊ एसिड छ्यापिएकी सङ्गीता त्यही हो, हेर त कस्तो अनुहार बिग्रिएछ, यस्तै भनाइ दिनहुँ सुन्नुपर्छ । जेनी खड्कालाई पनि कमलपोखरीमा २०७६ जेठ १ गते विष्णु भुजेलले एसिड छ्यापे । उनीमाथि कानुनी कारबाही अदालतमा चल्दैछ । ‘मलाई अदालतले मेरो पीडाको त्यो पल सोध्दैन । अहिलेको अवस्था कस्तो छ भनेर मात्र सोध्छ,’ उनी भन्छिन् । अनुहारको केही भाग र छाती लगायत अन्य स्थानमा परेको एसिडको असर केही कम हुँदैछ ।
एसिड प्रहार हुँदा प्लास्टिक झैँ पग्लेको अनुहार र शरीर आफ्नो जस्तै नरहेको पीडा उनको आँखा र मुहारमा झल्कन्छ । एसिड छ्यापेर त्यस्तो हुँदा पनि अझै समाजमै हिँड्न बाध्य हुनु यो उनले भोगिरहेको पीडा हो ।
उनी एसिड हान्नेलाई एसिड हान्ने कानुन ल्याउनुपर्छ । अन्य कानुनले पीडकलाई कसरी थाहा दिन्छ कि कति पीडा हुन्छ । मागमा आक्रोश पनि छ । एसिड हान्नेले पहिल्यै पाउने सजाय र कानुनको लेखाजोखा गरेरै त्यस्तो कदम उठाउने गरेको दाबी उनी दाबी गर्छिन् ।
वीरगञ्जमा मुस्कान खातुनलाई २०७६ भदौ २१ गते स्कुलबाट फर्कदै गर्दा साम्सद आलमले एसिड छ्याप्यो । मुस्कानको अझै शल्यक्रिया चलिरहेकै छ । त्यस्तै २०७५ असोजमा रौतहटकी सम्झनाकुमारी दासलाई रामबाबु पासवानले एसिड प्रहार ग¥यो ।
नवलपरासीकी वसन्ती परियारलाई त्यही बेला विमल श्रीपालीले एसिड हान्यो । एसिड छ्यापिए पछिको पीडादायी जीवन बोकेर उनीहरू सामाजिक न्यायको आशमा जिउने सङ्घर्षमा छन् । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया