नेकपा–राजपा गठनबन्धन कहाँ अड्कियो ?

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा राजपासँग गठजोड गरेपनि रिक्त रहेको उपसभामुख र समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त मन्त्रालयमा राजपालाई भित्र्याउने सरकारको योजना तत्काल अघि नबढ्ने भएको छ।

संविधान अनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नहुने र फरक दल र लिंगको हुनुपर्ने भएका कारण सत्तारुढ नेकपाले उपसभामुख पाउँदैन। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई सरकारमा सहभागी गराउने योजना बनाउँदै केही चरण अनौपचारिक छलफल पनि गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले केही समय अगाडि राजपा नेता महन्थ ठाकुरसँग बालुवाटारमा छलफल गरेको थिए। उक्त छलफलमा सरकारमा सहभागी, उपसभामुख र दुई नम्बर प्रदेश सरकार परिवर्तनलगायत प्याकेजमै सहमति गर्न प्रधानमन्त्री ओलीले नेता ठाकुरसँग प्रस्ताव गरेका थिए।

प्याकेजमै सहमति हुने अवस्था आयो भने राजपाले उठाउँदै आएका मागका विषयमा पनि छलफल गर्न सकिने प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको राजपाको एक नेताले बताए।

ती नेताका अनुसार प्याकेजमा सहमति हुने हो भने राजपाले मुख्य रुपमा उठाउँदै आएको रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका क्रममा पक्राउ परेको रिहाई, क्षतिपूर्तिलगायतका विषय पनि प्याकेजमै सहमति गर्न सकिने प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्।

तर सरकारमा सहभागी हुने र दुई नम्बर प्रदेशको सरकार परिवर्तन गर्ने विषयमा राजपाभित्र विवाद छ। विशेष गरी राजपा अध्यक्ष मण्डलका वर्तमान संयोजक महेन्द्रराय यादवले आफूहरुको माग पूरा नभइ सरकारमा सहभागी हुन नहुने अडानमा छन्।

उनकाे नेकपासँग भन्दा समाजवादीसँगै सहकार्य गर्नुपर्ने अडानमा भएका कारण दुई नम्बर प्रदेशको सरकार परिवर्तनका विषयमा राजपाले सहमति जुटाउन सकेको छैन। अहिले दुई नम्बर प्रदेशमा समाजवादी र राजपाको संयुक्त सरकार छ।

नेकपाले राजपा र नेकपाको सरकार बनाउनुपर्ने प्रस्ताव गरेपछि सोही विषयमा राजपाभित्र सहमति जुट्न सकेको छैन। त्यसको असर उपसभामुख पदमा पनि परेको छ।

तत्कालीन उपसभमुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन्।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयन गरिने व्यवस्था छ । सो धाराको उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ।

सोही धाराको उपधारा २ मा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया