‘भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास’

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई नै विषय बनाएर सरकारविरुद्ध अनावश्यक प्रचार गरिरहेको टिप्पणी गरे।

संसद्मा लगिएको विधेयकको उद्देश्य र विषयवस्तुबारे स्पष्ट भएर भन्दा पनि कुरै नबुझी विपक्षीले विरोध गरिरहेको उनको भनाइ थियो।

‘कुखुराको एउटा चल्ला फट्यांग्रो टिपेर कुद्छ, त्यो चल्लाले के टिप्यो भन्नेसमेत थाहा नपाएका अरू चल्लाहरू पछिपछि कुद्छन्,’ उनले भने, ‘विपक्षीहरू पनि चल्लाहरूझैं कुदिरहेका छन्।’

प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी देशीविदेशी शक्तिको षड्यन्त्र र हमला परास्त गर्दै पार्टी एकता प्रक्रिया अघि बढिसकेकाले सफलतापूर्वक निष्कर्षमा पुग्ने दाबी गरे। अरू पार्टीसँग नेकपाको तुलना हुनै नसक्ने उल्लेख गर्दै उनले नेकपा जनाधारयुक्त पार्टी भएको जिकिर गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, सार्वभौम सत्ता र स्वाधीनताका विषयमा कोहीकसैसँग सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले जनताको त्याग, तपस्या र सहिदको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै त्यसको कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गरे।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विश्व समृद्धिको बाधक अमेरिकी साम्राज्यवाद भएको आरोप लगाए। उनले त्यस्ता प्रवृत्तिविरुद्ध जुध्न पार्टी सुदृढ र एकताबद्ध बनाएर अघि बढे मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा व्यक्त गरे।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताले अनुभूति गर्नेगरी जनताको जीवनमा परिवर्तन नल्याउने हो भने राजनीतिक क्रान्तिको अर्थ नहुने बताए। उनले महाधिवेशनसम्मका लागि कार्यदिशाको विषय थाती राखेको जानकारी दिए। नागरिक दैनिक

फेसबुकबाट तपाइको प्रतिक्रिया