मकवानपुर : हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैंया जरिवानाको फैसला गरेको हो। अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताए। त्यस्तै, एसिड आक्रमणको मतियारको रुपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैसला गरेको छ।
घटना भएको साढे छ वर्षपछि कात्तिक १४ गते केशरीलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डल पनि पक्राउ परेका थिए।
भारतको उत्तर प्रदेश, महाराजगंज जिल्ला, अमरपुर्वन वडा नम्बर ६ का केशरीले हेटौंडा उपमहानगरपालिका ३, मेनरोडकी विन्दवासिनी कंसाकारलाई २०७० बैशाख ९ गते पसलमा एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पनि पक्राउ गरिएको थियो।
एसिड प्रहारबाट पीडित भएकी कंसाकारले केशरीलाई हदैसम्मको सजायँ र उपचार खर्च पाउनुपर्ने माग गर्दै आएकी थ्इिन्। ‘बुवाले ८० लाख भारतीय रुपैंया बढी खर्च गर्नुभएको छ,’ उनले भनिन्।
एसिड आक्रमण भएपछि उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। बैंक ऋण लिएर उपचार गराएको र तिर्न नसक्दा बुवाको नाम कालो सूचीमा निकालेको भन्दै उनले दुःखेसो पोखिन् । ‘उपचार खर्च नै मासिक २० हजार रुपैंया भन्दा बढी छ,’ उनले भनिन्, ‘सरकारबाट अहिलेसम्म कुनै सहयोग पाएको छैन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया