नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ ।
प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल नेपालको प्राकृतिक सुन्दरता, हिमाल पर्वतमाला, जैविक विविधता र वन्यजन्तु हेर्ने पर्यटक बढ्दैछन् तैपनि नेपालको संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको अझ सहज पहुँच बनाउने वा नबनाउने भन्ने विवाद कायमै छ ।
केही विज्ञ संरक्षित क्षेत्रमा पर्यटकको आवागमन कम गर्नुपर्ने धारणा राख्छन् । एउटा धार भने वन्यजन्तुलाई असर नगरी संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिन्छन् ।
अर्कोतर्फ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को खाकामा अटाउँदै संरक्षित क्षेत्र, वन्यजन्तुलाई पर्यटन र आर्थिक समृद्धिसँग जोडेर लैजान वन तथा वातावरण मन्त्रालय र अन्य निकाय सहमत हुँदै अगाडि बढिरहेका छन् ।
विविधतामा रमेका वन्यजन्तु
नेपालमा उपलब्ध ११८ किसिमका पारिस्थितिक प्रणालीमध्ये ८० किसिमका प्रणाली संरक्षित क्षेत्रमा पाइन्छन् । नेपालको कुल भूभागको २९.३९ प्रतिशत भूभाग संरक्षित क्षेत्रमा पर्छ । विश्वमै दुर्लभ एकसिङे गैँडा ६४५ वटा छन् भने दुर्लभ पाटेबाघ २३५ वटा छन् ।
त्यसैगरी हिउँचितुवा, ध्वाँसेचितुवा, अर्ना, गौरीगाई सहितका स्तनधारी पाइन्छन् । सुन्दर डाँफे र मयूर जस्ता ८८८ प्रजातिका चरा, पुतलीका धेरै प्रजातिको संसार यही छ ।
त्यस्तै कछुवा, घडियाल गोही, अजङ्गका हात्ती र थुप्रै संरक्षित वन्यजन्तुको बासस्थान नेपालमा छ । विश्वको सर्वोच्च शिखर, तिलिचो, रारासँगै अनेकन पहाडी छहरामा रम्दै हिमाली यात्राको मजा नेपालमै लिन पाइन्छ ।
वन्यजन्तु कूटनीति मार्फत सरकारले नेपालको पर्यापर्यटनको क्षेत्रलाई आर्थिक कूटनीतिसँग जोडेर आर्थिक वृद्धिको लक्ष्यमा समाहित गरेको छ । यसले देशमा अत्यधिक पर्यटक भित्र्याउँदै विदेशी मुद्रा आर्जन नेपालमै गर्ने दिगो रणनीतिसमेत बनेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अनुसार धेरैभन्दा धेरै पर्यटक ल्याउन सरकारले कसरत गरिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया