काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले नेपालमा थप कडाइ गर्न थालेको छ ।
अब त्रिभुवन विमानस्थलमा कोरोना भाइरस प्रभावित मुलुकबाट आउने सबै यात्रुको स्वास्थ्य जाँच गरिने भएको छ । कोरोना प्रभावित देशबाट नेपाल आउने यात्रुको तापक्रम नाप्न त्रिभुवन विमानस्थलमा तीन वटा इन्फ्रारेड रेडियसन थर्मोमिटर थपिने भएको छ ।
त्यसका लागि आवश्यक जनशक्ति थप गरिसकिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । कोरोनाको प्रकोप विश्वभर फैलिँदै गर्दा नेपालमा आवश्यक तयारी नगरिएको भन्दै आलोचना बढेपछि सरकारले तयारीका कदम बढाएको हो । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी जुट्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार योजना बनाएर काम थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तातोपानी र रसुवागढी नाकामा चिकित्सक निगरानीका लागि चिकित्सक खटाइएको छ । यस्तै प्रदेशससँग समन्वय गरी त्यहाँका नाकामा निगरानी गर्न व्यवस्था मिलाइएको छ । कोरोना संक्रमणको उपचारमा आवश्यक सामग्रीको मौज्दात थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया