काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो। संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ।
ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ।
सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गर्नुभएको थियो। सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया