प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
शिक्षण अस्पतालका चिकित्सक प्रा.डा.प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो ।
प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।
साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा.ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्न उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।’
बिहान साढे १० बजेबाट सुरु भएको प्रत्यारोपण ३ बजे सकिएको थियो । ‘सबैको जस्तै हो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्यसमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो,’ डा.ज्ञवालीले भने ।
त्यस्तै, उनलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य सन्तोषजनक रहेको डा.ज्ञवालीले जनाएका छन् । ‘दाताको स्वास्थ्य ठीक छ, उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ,’ उनले भने ।
अब प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् । तर, काम बुधबार प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले मात्रै गर्नेछ । अन्य मिर्गौलाले कुनै समस्या नदिएकाले यथावत् राखिएको डा.ज्ञवालीले बताए । ‘अब काम नयाँले मात्रै गर्छ, पुरानाले गर्दैन । त्यसको मतलब पनि हुँदैन । अर्को कुरा, शरीरमा जतिवटा मिर्गौला राखे पनि कुनै असर गर्दैन । त्यसैले झिकेर फालिँदैन । तर, कुनै पनि वेला भित्र भएको अतिरिक्त मिर्गौलाले समस्या बनायो भने मात्र झिकेर फालिन्छ । समस्या पारेको छैन, त्यसले काम मात्रै नगरेको हो भने भित्रै रहन्छ,’ उनले भने ।
फेसबुकबाट तपाइको प्रतिक्रिया