सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापाको टोलीले प्रकोपग्रस्त क्षेत्रमा पुगेर संकलन गरेको नमुना काठमाडौं पठाइएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए ।
डाक्टरको टोली सेनाको हेलिकोप्टरमा प्रकोपग्रस्त क्षेत्रमा पुगेको थियो । टोलीले दश दिनदेखि थलिएका बिरामीको रगत, र्याल, खकार, दिशा र पिसाबको नमुना संकलन गरेको थियो ।
डा. हमाल नेतृत्वको टोली उपचारमा सक्रिय
जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र स्वास्थ्य सहायक सारंगा रोकाय उपचारमा जुटेका छन् । उनीहरू बुधबार बिहान मात्रै सदरमुकाम दुनैबाट हेलिकोप्टरमा प्रकोप क्षेत्र पुगेका हुन् ।
प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् । हेलिकोप्टरमा माक्स, पन्जालगायत आवश्यक औषधि लगिएको थियो ।
घरैपिच्छे बिरामी
४५ घरधुरी भएको करेलीकाँडामा घरैपिच्छे बिरामी छन् । ५० जनाभन्दा बढीलाई पुर्जा काटेरै उपचार गरिएको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिंगाटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया