कोरोना भाइरसको त्रास: ईटालीको १४ शहरमा मानवीय आवागमन ठप्प

एजेन्सी । कोरोना भाइरसको संक्रमण तिब्र गतिका साथ फैलिइरहेको युरोपेली मुलुक ईटालीमा एक करोड ६० लाख मानिस घरमै कैद हुने अवस्था आएको छ ।
ईटालीको लोम्बार्डीलगायत विभिन्न १४ शहरमा मानवीय आवागमन ठप्प पार्ने सरकारी निर्णयका कारण मानिसहरु घरमै कैद हुनुपर्ने अवस्था आएको हो । सरकारी निर्णय अनुसार मानिसहरु जो, जहाँ छन, त्यहिं रहनु पर्नेछ । कोही पनि आफु रहेको क्षेत्र छाडेर अन्यत्र जान पाउने छैनन् । आवागमनको कडा प्रतिबन्ध लागु गरिएका शहरहरुमा आउजाउ गर्नु परे सरकारको विशेष अनुमति लिनुपर्ने ब्यवस्था कायम गरिएको छ।

कोरोना संक्रमण नियन्त्रण प्रयासस्वरुप लिईएको यो सरकारी निर्णयका कारण मुलुकको एक चौथाई आवादी आ–आफ्नै घरमा कैद हुनुपर्ने अवस्थाको सिर्जना भएको छ । ईटालीको उत्तरी क्षेत्रबाट कोरोनाको महामारी फैलिएको छ । यो क्षेत्र देशको अर्थब्यवस्थाकै मेरुदण्ड मानिन्छ । यो क्षेत्र उर्जा उत्पादनका लागि विशेष क्षेत्र पनि हो । ईटालीमा आईतबारसम्म कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको मृत्यु भएको थियो ।

त्यस्तै संक्रमितहरुको संख्या ५ हजार ८ सय ८३ पुगेको छ । चीनपछि कोरोना भाईरसले उत्पात मच्चाएको दोस्रो मुलुक ईटाली हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया