काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले विश्वभरि महामारी रुप लिएपछि नेपाल सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो । पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वभर फैलिँदै गएपछि सरकारले सुरुमा पाँच देश र पछि थप तीन देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गरेपछि मात्र सम्बन्धित देशको दूताबासमार्फत भिसा लिनुपर्ने र नेपालमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो । तर बुधबार मात्र डब्लूएचओले कोरोना भाइरसले महामारीको रुप लिएको घोषणा गर्यो । लगतै अमेरिकाले बेलायत बाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गर्यो । भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ । यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।
बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन,आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया