प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज,६ लाख खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि शुक्रबार बेलुकी महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाह्र दिन लामो अस्पताल बसाइपछि मृगौला प्रत्यारोपण गरेर आफ्नो निवासमा फर्केको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा धन्यवाद दिएका छन् ।  प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा करिब ५ देखि ६ लाख रुपैयाँ खर्च भएको अस्पतालले बताएको छ ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोण गराएका प्रधानमन्त्री ओलीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख रुपैयाँ भएको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए । उनले सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको बताए । फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए । डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्यासिंह शाहले बताइन् ।

प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया