काठमाण्डौ । नेपाली कांग्रेसले जिल्लामा क्रियाशील सदस्यता र नवीकरण सदस्यता फारम पठाएर कांग्रेसले आगामी वर्ष फागुनमा हुने महाधिवेशनको तयारी गरेको छ।
महामन्त्री पूर्णबहादुर खड्काले ७७ जिल्ला कार्यसमितिमा पुग्ने गरी क्रियाशील सदस्यता फारम पठाउने व्यवस्था मिलाइसकेको बताएका छन्। समायोजन सकेका केही जिल्लाले क्रियाशील सदस्यता वितरण/नवीकरण सुरू गरिसकेका छन्।
कांग्रेसमा साधारण र क्रियाशील गरी दुई सदस्यता लिन मिल्छ। नयाँ क्रियाशील सदस्य बन्न चाहनेले तीन सय रूपैयाँ तिर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। पहिले नै क्रियाशील लिएकाहरूले नवीकरण गर्न दुई सय रूपैंयाँ तिर्नुपर्छ। कांग्रेसले फोटोसहित विभिन्न फारम भरेपछि क्रियाशील/नवीकरण सदस्यता वितरणको प्रक्रिया सुरू गर्छ। कांग्रेसमा १३ औं महाधिवेशनका बेला चार लाख ८० हजार क्रियाशील सदस्य थिए। त्यो संख्यालाई नवीकरण गर्ने र थप चार लाख नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारीमा कांग्रेस छ। महामन्त्री खड्काका अनुसार क्रियाशील सदस्यता नवीकरण शुल्क दुई सय रूपैयाँमध्ये एक सय ५० रूपैयाँ केन्द्रमा पठाउनुपर्नेछ। बाँकी ५० रूपैयाँ जिल्ला कार्यसमितिले राख्छ।
कांग्रेस विधानले नै क्रियाशील सदस्यता र नवीकरण शुल्क केन्द्र, प्रदेश र स्थानीय कार्यसमितिले बाँडफाँड गरी लिन मिल्ने व्यवस्था मिलाएको छ। अहिले कांग्रेसमा सातै प्रदेश कार्यसमिति छैन। केन्द्रदेखि वडासम्म भने नयाँ विधानअनुसार कार्यसमिति गठन भइरहेका छन्। कांग्रेसले समायोजन निर्देशिका नै बनाएर पार्टीका पुराना संरचनालाई संघीय व्यवस्थाअनुसार समायोजन गरेको हो। प्रदेश कार्यसमिति नभएकोले अहिले नवीकरणवापतको १० रूपैंयाँ पनि केन्द्रलाई नै पठाउने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ। जिल्ला कार्यसमितिले नै नवीकरण शुल्क बाँडफाँड गरी केन्द्रमा पठाउने अधिकार विधानले नै गरिदिएको छ।
जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण फारमसँगै पैसा बुझाएको भौचर पनि साथै राखेर केन्द्रीय कार्यालयमा विवरण पठाउन मातहत निकायलाई निर्देशन दिएको छ। यस्तै कांग्रेसले नयाँ क्रियाशील सदस्यता शुल्क तीन सय तिर्नुपर्ने बताएको छ। उक्त रकममध्ये प्रदेश कार्यसमितिमा ४० रूपैयाँका दरले पठाउनुपर्ने हो। तर प्रदेश कार्यसमिति नभएकोले सिधै केन्द्रमा एक सय रूपैयाँ पठाउन महामन्त्री खड्काले आग्रह गरेका छन्। कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई थप कडा बनाउने भएको छ। पहिले सदस्यता लिएकाहरूले नवीकरण गर्दा पुरानो क्रियाशील नम्बर र फोटो अनिवार्य राख्नुपर्छ। क्रियाशील सदस्यता वितरण गर्दा वडामा जनसंख्या र समानुपातिक समावेशीतालाई ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले आगामी वर्ष फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया