कोरोना भाइरस: सरकारले २३५ आईसीयू बेड तयार पार्ने

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महाहारी घोषणा गरिसकेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए । संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् ।

अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएकोसमेत उनले जानकारी दिएका छन् ।

तर विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको उनले बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ । मन्त्री ढकालका अनुसार नेपालमा कोरोनाको संक्रमण देखिहाल्यो भने उपत्यकाका तीन वटा अस्पतालमा मात्र उपचार गरिनेछ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ । अरु मुलुकको संक्रमण हेर्दा ८० प्रतिशत सामान्य उपचार अर्थात क्वारेन्टाइनलगायतमा राख्नुपर्ने, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने र ५ प्रतिशतलाई अति जोमिखयुक्त उपचार गर्नुपर्ने देखिएको भन्दै उनले भने, ‘हामी कहाँ सामान्यतयाः १५ सय, तीन हजार वा साढे ४ हजारसम्म (संक्रमित) हुँदा पनि कुन खालको व्यवस्थापन भयो भने सहज ढंगले म्यानेज गर्न सकिन्छ भनेर अन्तरिम तयारीमा लागेका छौं ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ भने अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया