नेपालीलाई नेपाल फर्कन लगाएको रोकप्रति एनआएनएको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले लगाएको अल्पकालीन रोकबारे आपत्ति जनाएको छ ।

बिहीबार एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा सरकारी निर्णयको आलोचना गरे । कोरोनाको जोखिमलाई देखाउँदै सरकारले लगाएको रोक अव्यवहारिक भएको संघको ठहर छ ।   अध्यक्ष पन्तले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाइ भोग्नुपर्ने अवस्था आउन लागेको बताए । विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न एनआरएनएले उच्चस्तरीय समिति गठन गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित उच्चस्तरीय समितिको बैठकमा अध्यक्ष पन्तले कोरोना भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कामहरुको जानकारी दिएका थिए । बैठकमा कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका बारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

उच्चस्तरीय समितिको बैठकले एक हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीतिक कार्यपत्र तयार गरेर नेपाल सरकारसमक्ष पेस गर्ने निर्णय गरेको शर्माले जानकारी दिएका छन् ।

कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा र डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकारसमक्ष पेश गरिने संघले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया