कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ ।

पुख्र्यौली घर संखुवासभा ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । उनी सपरिवार लण्डनको हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु मंगलबार लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो  । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा  र बुहारीले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया