चितवनमा ८ जनालाई कोरोना भाइरस संक्रमणको आशंका,रिपोर्ट आउने बाँकी

चितवन । चितवनबाट ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा घाँटीको र्‍याल परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट सोमबार बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना विशेष अस्पतालका रहेका छन् ।

चितवनमा आइतबारसम्ममा कोभिड–१९ को संक्रमणको आशंकामा ८ जना आइसोलेसनमा राखिएको छ । ६ जना भरतपुर अस्पतालमा र दुई जना घरमै सेल्फ क्वारेनटाइनमा बसेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालको ज्वरो क्लिनिक (ओपीडी) मा आइतबार मात्रै ५० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये पाँच जना ज्वरोसहित अन्य केही लक्षणको आधारमा आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।

यसअघि भरतपुर अस्पतालबाट कोरोना परीक्षण गरिएको चार जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया