भारत र चीनका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने,नेपाल लक-डाउन

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन  भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् ।

यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ ।

देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि भोलि १० गतेबाट रोकिनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया