कोरोनाविरुद्ध ५० करोडको कोष गठन,एनआरएनएद्धारा १ करोड सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरस  संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले केन्द्रीय राहत कोष खडा गरेको छ ।

आइतबार मन्त्रिपरिषदको बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको छ । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको थियो ।

एनआरएनएद्धारा कोषमा १ करोड सहयोग गर्ने 

गैरआवासीय नेपाली संघले कोरोना भाईरसको संक्रमण महामारी बिरुद्द लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा.बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया