
काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका छन् ।
पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ ।
चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा संक्रमण परीक्षण हुने छ । चिनियाँ निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामानसमेत सातै प्रदेशमा वितरण गरिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए ।
नेपाल सरकारले चीनबाट किनेर ल्याएका अत्यावश्यक सामाग्रीमध्ये प्रोटेक्टिभ गगल्स ५ हजार थान छन् । त्यस्तै कोभिड १९ कै लागि निर्मित र्यापिड डायग्नोस्टिक किट ७५ हजार थान आइपुगेका छन् ।,पाँचवटा पोर्टेबेल पीसीआर मेसिन ल्याइएको छ भने त्यसका लागि आवश्यक किट २० हजार थान आइपुगेका छन् । यो बाहेक सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान छन् ।
चीनका विभिन्न व्यापारिक कम्पनी र सिचुवान प्रदेशबाट अनुदानमा ल्याइएका एन ९५ मास्क, पीपीई लगायतका आवश्यक मेडिकल सामग्रीहरु सोमबारबाटै तोकिएका अस्पतालहरुमा पुर्याइँदैछ ।
सरकारले काठमाडौं बाहिर पनि कोभिड १९ संक्रमणको जाँच गर्न सोमबारबाटै ल्याबहरु स्थापना गर्दैछ । त्यसका लागि पनि आवश्यक सामाग्रीहरु आइसकेकाले अब सरकारको ध्यान धेरैभन्दा धेरै मान्छेमा परीक्षण गरेर ढुक्क हुनेतर्फ केन्द्रित रहने मन्त्रालयका अधिकारीले बताएका छन् ।
काठमाडौं बाहेक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाटै कोभिड १९ संक्रमणको जाँच प्रयोगशाला शुरु भइसकेको छ । सोमबार विहान १० बजेभित्र सातै प्रदेशका सरकारलाई चीनबाट किनेर ल्याइएका उपकरण तथा अन्य सामाग्री हेलिकोप्टरबाट लगेर हस्तान्तरण गरिने छ । सरकारसँग किनेका र अनुदानका सहित अब करीव एक लाख ‘टेस्टिङ किट्स’हरु छन् । सोमबार सबै प्रदेशमा ती सामान र उपकरण पुगेपछि एक साताभित्रै धेरैमा परीक्षण गर्ने तयारी छ । एक सातामा सातै प्रदेशबाट ३० हजारभन्दा बढी मान्छेको परीक्षण गर्न सकिने आँकलन छ ।
विदेशबाट आएर क्वारेन्टाइनमा बसेका वा विदेशबाट आएर पनि स्वास्थ्य परीक्षण गर्न नचाहेकाहरुलाई खोजी–खोजी परीक्षण गर्ने सरकारी अधिकारीहरु बताउँछन् । त्यसका लागि प्रदेश सरकार र स्थानीय सकारलाई बढी जिम्मेवारी दिइने छ । धेरैजसो स्थानीय तहले विदेशबाट आएकाहरुको विवरणसमेत संकलन गरिसकेका छन् ।
प्रदेशस्तरमा ल्याब स्थापनाका लागि केही सामान आइसकेकाले सोमबारबाटै काम शरु हुने विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार प्रादेशिक अस्पताल जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत र धनगढीमा कर्मचारी तथा विज्ञहरुको टिम खटाइसकिएको छ ।
मन्त्रालयका अनुसार सोमबार बिराटनगर, बुटवल, सुर्खेत र धनगढीका लागि आवश्यक उपकरण तथा चिकित्सक सुरक्षा सामाग्रीहरु सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण हुँदैछन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया