काठमाडौं- राष्ट्रिय जनता पार्टीले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानले नेपाल भारत सम्बन्धलाई आघात पुर्याउने बताएको छ।
पार्टीको आइतबार बसेको संसदीय दलको बैठकको निर्णयमा भनिएको छ- नेपाली नागरिकता सम्बन्धी ऐन लागू भएपश्चात वर्षौंदेखि विवाहको सम्बन्धको आधारमा नागरिकता प्राप्त गर्ने प्रचलित व्यवस्थाको विपरित गरिएको यस निर्णयले नेपाल-भारतबीच सदियौंदेखि रहेको सामाजिक-सांस्कृतिक तथा बिहावारीको सम्बन्धलाई आघात पुर्याउने निश्चितै छ।
नागरिकता ऐनमा नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधान राख्नुपर्ने नेकपाले निर्णय गरेको छ। सोही अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले विधेयक पारित गर्ने निश्चितप्रायः छ। राजपाका अतिरिक्त कांग्रेसले पनि त्यस्तो प्रावधानको विरोध गरेको छ। उसले नोट अफ डिसेन्ट लेख्ने निर्णय गरिसकेको छ।
राजपाले त्यस्तो प्रावधान आफूलाई स्वीकार्य हुन नसक्ने बताएको छ।
‘७ वर्ष समय सीमा लाग्ने व्यवस्थाले निजको आर्थिक, वैयक्तिक उन्नति, सम्पत्ति प्राप्ती माथिको अधिकार एवं अन्य अवसरहरुबाट वञ्चिती हुनुपर्ने देखिन्छ’, राजपाले निर्णयमा भनेको छ।
विधेयकमाथि अहिले राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया