काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका ११६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६संक्रमित थपिएका हुन् ।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो ।
कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६९७ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार २५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६४ दशमलव २ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २६ प्रयोगशालामार्फत ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ५८ हजार ८२९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २४ हजार ५२७ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ११३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
सार्क मुलुकहरुमा गरिएको पीसीआर परीक्षणलाई नेपालसँग तुलना गर्दा दैनिक औसत कोरोना परीक्षण अफगानिस्तानमा २ हजार २०३ , बंगलादेशमा पाँच हजार ८६६ , श्रीलंकामा पाँच हजार ९७३, पाकिस्तानमा ७ हजार ३६५ र भारतमा ८ हजार ९४४ र नेपालमा १० हजार २५० रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया