भारतमा एकैदिन ५२ हजार बढीमा कोरोना संक्रमण,सङ्क्रमित धेरै भएका ठाउँमा भदौ १५ सम्म लकडाउन

भारत छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ ।

 

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको वल्डोमिटरमा उल्लेख छ।भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६ सय ११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७ सय ७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३५ हजार ३ पुगेको छ । यसैबिच सरकारले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यस्तै, अब रात्रीकालीन कर्फ्यु हटाउनुका साथै जीम र योग संस्था खोल्ने निर्णय भएको छ । तर अझै पनि ठूलो संख्यामा जमघट गर्न प्रतिबन्ध छ ।राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् ।  गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया