
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् । नागार्जुन नगरपालिकाले स्यूचाटारमा निर्माण गरेको ओपन फिटनेस सेन्टरको शनिबार उद्घाटन गर्दै नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए । हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन् ।
‘आफ्नो राष्ट्रको भूभाग संरक्षित गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो’उनले भने । त्यस्तै उनले अहिले ठूला ठूला भ्रष्टाचारकाण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए ।
सिंहले किरब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए । सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाई थियो ।
बलात्कारका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको उनले बताए । त्यस्तै कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए । जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनः स्युचाटारबाटै संकल्प गर्नुपर्ने पनि उनले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया