कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या, शंकास्पद ११ जना पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

गएराति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गएराति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो ।

सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ । नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्राउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ ।

गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आज बिहान घटनास्थल पुगेको थियो ।

यसैबिच, प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम नखुलाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया